(Elijah changes the direction in Horeb)
कोहीबेला हाम्रो जीवनमा आईपर्ने भयानक परिस्थितिहरू परमेश्वरको योजना पुराहुने समय पनि हुन सक्छ।
हामीलाई चिन्तित्, भयभित र असुरक्षित बनाउने परिस्थितिले निर्णायक मोढमा ल्याउन सक्छ। यस्तै घटना अगमवक्ता एलियाको जीवनमा घटेको थियो।
बाइबल, १ राजा १९ अध्यायमा तिनी रानी ईजेबेल देखी भागेर होरेबमा पुगे।
कर्मेल डाँड़ामा आठ सय पचासजना बाल र अशेराका पुजारीहरूलाई चुनौती दिने आँटिलो अगमवक्ताको जीवनले एकाएक नाटकीय मोढ लियो। परिस्थिति यस्तो तनावपूर्ण थियो कि तिनले बाँच्ने आशा सम्म गुमाए।
निरासापनले झ्याप्प छोपे पछि जोसिलो अगमवक्ता एलिया त डरपोक भगुवा भएर अम्रिसको झाडी मुनी लुकेर मृत्युको निम्ति प्रार्थना गर्न लागे।
जीवनमा आईपर्ने यस्ता संकष्टमय परिस्थितिले कोही बेला मानिसहरुको सोच बिचारलाई अति नै नकरात्मक बनाइदिन्छ भन्ने उदाहरण एलियाको जीवनमा भएको यस घटनामा देख्न सकिन्छ। जब तिनी त्यस परिस्थितिद्वारा पेलिए तब तिनी गन-गन गर्ने, अरूलाई दोष लगाउने र जिम्मेवारी देखी तर्किने मानिस बने।
वास्तवमा, "सर्वशक्तिमान् परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोशिलो भएको छु।" भनाई तिनको तिक्त बिचारको उग्र बोली हो। भनाईको तात्पर्य, "तपाईको निम्ति म जोसिनु मेरो गल्ती हो" भन्ने थियो।
एलियाले परिस्थितिलाई सामना गर्नुको सट्टा परिस्थिति देखी भाग्दै थिए।
हामी पनि परिस्थिति देखी भाग्दा हाम्रो चरित्रिक दुर्वलताले हामीलाई पुनः त्यस्तै परिस्थिति (घटना फरक हुनसक्छ) सँग सामना गर्न लगाउँछ यसकारण परिस्थिति देखी भाग्नु होइन तर त्यसलाई सामना गर्नुपर्छ।
एलियाले पनि जब परिस्थितिलाई सामना गरे तब तिनले त्यस परिस्थितिभित्र परमेश्वरको योजना बुझ्न सके र उहाँको आवाज सुन्न सक्षम बने। तिनी उहाँको अझै नजिक पुगे।
त्यस परिस्थितिभित्र परमेश्वरको एउटा भलोपन थियो अनि एलिया त्यसभित्र पस्दैथिए। त्यस परिस्थितिभित्र नै तिनले उहाँको आवाज सुन्ने र उहाँलाई देख्ने अवसर पाए।
अन्तमा त्यस संकष्टमय परिस्थितिले नै एलियाको दिशा निर्देशित गरेको छ। तिनले त्यहाँबाट नै हजाएललाई अरामको राजा, निम्शीको छोरो येहूलाई इस्राएलको राजा, र हाबिल-महोलाको शाफातको छोरो एलीशालाई तिनी पछिको अर्को अगमवक्ता अभिषेक गर्ने निर्देशन पाए।
परमेश्वर अगमवक्ता एलियासँग जीवनको कठिन परिस्थिति (crisis situation) मा बोल्नु भयो। वास्तवमा त्यो तिनको अर्को आयाममा जाने निर्णयको ॠतु थियो।
निष्कर्ष: हाम्रो जीवनमा आउने संकष्टमय परिस्थितिहरूमा परमेश्वरको असल अभिप्राय हुन्छ र त्यस्तै अवस्थाहरू हामीले परमेश्वरको आवाज सुन्ने, निर्णय गर्ने र दिशा भेटाउने ऋतु पनि हुनसक्छ अनि यस्ते समयहरूमा हामी उहाँको योजनालाई बुझ्न पनि सक्छौं।
बिमल छेत्री, शिलगढ़ी
Post a Comment
Hi, thanks for contacting us. We've received your message and appreciate you reaching out. God bless you...